धुलिखेल– धुलिखेल नगरपालिका ‘स्वस्थ शहर’ अवधारणालाई व्यवहारमा उतार्दै नमूना स्थानीय तहको रूपमा स्थापित हुँदै आएको छ। यही सन्दर्भमा धुलिखेल नगरपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य प्रवर्द्धन, पूर्वाधार र सेवासम्बन्धी अभ्यासको अध्ययन तथा अनुभव आदानप्रदान गर्न चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको प्रतिनिधि टोलीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरले अपनाएको ‘स्वस्थ शहर’ अवधारणाको पृष्ठभूमि, उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो।
उहाँले स्वस्थ जीवनशैली प्रवर्द्धन, स्वच्छ वातावरण, सुरक्षित खानेपानी, फोहोर व्यवस्थापन, हरित पूर्वाधार, नागरिकको स्वास्थ्य सचेतना तथा संस्थागत समन्वयलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।
नगरप्रमुख ब्याञ्जुका अनुसार धुलिखेलले दीर्घकालीन सोचसहित स्वास्थ्यलाई विकाससँग जोड्दै नीति, कार्यक्रम र बजेटमार्फत निरन्तर कार्यान्वयन गर्दै आएको छ। “स्वस्थ नागरिक बिना दिगो विकास सम्भव हुँदैन भन्ने मान्यताका साथ हामीले स्थानीय तहको क्षमताभित्र रहेर स्वास्थ्य मैत्री योजना अघि बढाएका छौँ,” उहाँले भन्नुभयो।

अन्तरक्रियाका क्रममा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले धुलिखेलको अनुभव, सिकाइ र अभ्यासलाई आफ्ना नगरस्तरीय कार्यक्रम निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रमले स्थानीय तहहरूबीच आपसी सहकार्य, ज्ञान आदानप्रदान र स्वस्थ शहर अवधारणाको प्रभावकारी विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित | १ माघ २०८२, बुधबार १९:३२

