काभ्रे २ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक कुमार ब्याञ्जु चुनावी मैदानमा

काभ्रे २ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोक कुमार ब्याञ्जुले जनताको सेवा र देशको समृद्धिलाई आफ्नो मुख्य उद्देश्य बनाएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । ब्याञ्जु नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि सामाजिक तथा विकासका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ब्याञ्जुले जनताको विश्वास र साथले मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।
उम्मेदवार ब्याञ्जुले काभ्रे २ का विभिन्न स्थानमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। “जनताको समस्या नजिकबाट बुझेको छु। अब ती समस्यालाई नीति र कार्यक्रममार्फत समाधान गर्ने समय आएको छ,” उहाँले भन्नुभयो।
ब्याञ्जुले सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउने बताउनुभएको छ। “राजनीति पद र शक्तिको लागि होइन, सेवाको माध्यम हो,” भन्दै उहाँले जनताको विश्वासलाई कहिल्यै धोका नदिने प्रतिबद्धता दोहोर्याउनुभयो।
आगामी निर्वाचनमार्फत काभ्रे २ को समग्र विकास र देशको समृद्धिमा योगदान पु¥याउने लक्ष्यसहित उम्मेदवार अशोक कुमार ब्याञ्जु जनताको घरदैलोमा पुगेर आफ्नो एजेन्डा प्रस्तुत गरिरहनुभएको छ ।


प्रकाशित | १४ माघ २०८२, मंगलवार ११:०३