काठमाडौं । प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धिताल ले पत्रकारिता क्षेत्रमा महिलामाथि हुने रूपकेन्द्रित प्रश्नप्रति गम्भीर आपत्ति जनाउँदै मिडियालाई प्रश्नको स्तर उकास्न आग्रह गर्नुभएको छ।
धितालले युवा महिलासँग अन्तर्वार्ता लिँदा “राम्री हुनुहुन्छ”, “चिटिक्क देखिनु भयो” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले महिलालाई विषयवस्तुबाट हटाएर बाह्य रूपमै सीमित गर्ने बताउनुभयो। उहाँका अनुसार यस्तो अभ्यास व्यक्तिगत टिप्पणी जस्तो देखिए पनि संरचनागत रूपमा महिलाको प्रतिनिधित्व कमजोर बनाउने खालको हो।
“हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि संघर्ष गरिरहेका छौं, तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाज र मुद्दालाई ओझेलमा पार्छ,” उहाँले भन्नुभयो।
उहाँले मिडियालाई आफ्नो भूमिकाप्रति सचेत रहन आग्रह गर्दै माइक विचार अभिव्यक्त गर्ने माध्यम भएको, सौन्दर्यको मूल्याङ्कन गर्ने उपकरण नभएको स्पष्ट पार्नुभयो। साथै, पत्रकारिताले अझ बौद्धिक, गहिरो र विषयकेन्द्रित प्रश्नहरू उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
धितालले केही युट्युब तथा डिजिटल मिडियाहरूमा भ्यूज र आम्दानीका लागि सतही सामग्री, सनसनीपूर्ण प्रस्तुति र गैरजिम्मेवार शैली बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्तो प्रवृत्तिले पत्रकारिताको मूल मर्मलाई कमजोर बनाइरहेको भन्दै सामग्रीको गुणस्तर, नैतिकता र जिम्मेवारी कायम गर्नुपर्ने बताउनुभयो।
सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उहाँले यस्ता अभ्यासले दीर्घकालीन रूपमा गलत संस्कारलाई बलियो बनाउने चेतावनी दिनुभयो।
“मिडिया सूचना दिने माध्यम मात्रै होइन, समाजको चेतना निर्माण गर्ने शक्ति पनि हो,” उहाँले भन्नुभयो, “त्यसैले यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु अपरिहार्य छ
प्रकाशित | ६ बैशाख २०८३, आईतवार १४:५३

