गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा, नैतिकताको उदाहरण दिँदै पदबाट अलग भएको घोषणा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा उठेका विभिन्न प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

उनले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो रहेको र जनविश्वास सबैभन्दा महत्वपूर्ण शक्ति भएको स्पष्ट पारेका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देशलाई आत्मसात गर्दै आफूले राजीनामा दिएको बताएका छन्।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ। उनले यसलाई आफ्नो नैतिक जिम्मेवारीको रूपमा प्रस्तुत गरेका छन्।

गुरुङले सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै देशमा वास्तविक परिवर्तनका लागि सबैले जिम्मेवार बन्नुपर्ने बताएका छन्। साथै, सार्वजनिक जीवनमा पारदर्शिता कायम राख्न सबै पक्ष सचेत हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।


प्रकाशित | ९ बैशाख २०८३, बुधबार १४:३६