उपत्यकामा वैशाख ११ देखि भर्ना अभियान र १५ देखि पठनपाठन सुरु गर्ने मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ शैक्षिक क्यालेन्डर सार्वजनिक गरेका छन्। उपत्यका मेयर्स फोरमको सोमबार बसेको बैठकले वैशाख ११ गतेदेखि विद्यार्थी भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाका सबै पालिकालाई सोहीअनुसारको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार भर्ना अभियान वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि सुरु गर्ने सूचना जारी गरिएको थियो। तर शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ देखि नै सुरु हुने व्यवस्था र संविधानले स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार दिएको आधारमा संघीय निर्णयले अन्यौलता सिर्जना गरेको निष्कर्ष निकाल्दै स्थानीय तहहरूले आफ्नै तालिका अघि सारेका हुन्।

मेयर्स फोरमले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन र नियमनको अधिकार स्थानीय तहको भएकाले शैक्षिक गतिविधिमा निरन्तरता दिन यो निर्णय गरिएको स्पष्ट पारेको छ।

साथै सर्वोच्च अदालतको हालैको अन्तरिम आदेशलाई समेत ध्यानमा राख्दै शैक्षिक एकरूपता कायम गर्न पहल गरिएको जनाइएको छ। शिक्षक संगठन, विद्यालय संघसंस्था तथा अभिभावकहरूको सुझावका आधारमा विद्यार्थीको सिकाइमा असर नपरोस् भनेर वैशाख १५ देखि नियमित कक्षा सञ्चालन उपयुक्त हुने निष्कर्ष फोरमले निकालेको हो।

यसैबीच, मुलुकमा देखिएको इन्धन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै मेयर्स फोरमले विद्यालयहरूलाई वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ। इन्धन संकट बढेमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षासहित वैकल्पिक शिक्षण प्रणाली तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

 


प्रकाशित | ९ बैशाख २०८३, बुधबार १८:१७