बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत ले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुने दाबी गरेका छन्। अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने तयारीप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कदमप्रति कडा आलोचना गरेका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाह ले सुरक्षा प्रमुखलाई बोलाएर छोटो समयमै बस्ती खाली गराउने निर्देशन दिएको उल्लेख गरेका छन्। उक्त निर्णयले सरकारको वास्तविक चरित्र उजागर भएको उनको टिप्पणी छ।

बस्नेतले रवि लामिछाने को पूर्व अभिव्यक्तिलाई स्मरण गर्दै सुकुम्बासीको पक्षमा गरिएका प्रतिबद्धता अहिले कहाँ हरायो भनी प्रश्न उठाएका छन्। “सुकुम्बासीलाई हटाउने कि व्यवस्थित गर्ने ? गरिबी घटाउने कि गरिबलाई नै विस्थापित गर्ने ?” भन्ने प्रश्न गर्दै उनले सरकारको नीतिप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले सडक विस्तार, फुटपाथ व्यवस्थापन र भन्सार कडाइका नाममा साना व्यवसायी तथा सर्वसाधारण प्रभावित भएको उल्लेख गर्दै यसलाई “गरिबमाथिको सीधा प्रहार” को संज्ञा दिएका छन्। साथै, विद्यार्थी र कर्मचारी संगठनसम्बन्धी निर्णयले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप समेत लगाए।

बस्नेतले जनविरोधी कदमविरुद्ध जनता चुप लागेर नबस्ने चेतावनी दिँदै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।


प्रकाशित | १० बैशाख २०८३, बिहीबार ०९:२४