हाजिर नहुने प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनको अल्टिमेटम, अटेर गरे कडा कारबाहीकाे चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले खटाइएको स्थानीय तहमा हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार गत भदौंदेखि चैतसम्म विभिन्न स्थानीय तहमा सरुवा भए पनि हाजिर नभएका उपसचिव र शाखा अधिकृत स्तरका १६ जना कर्मचारीलाई रमाना लिएर तोकिएको स्थानमा जान पत्राचार गरिएको हो।

लामो समयसम्म अटेर गरी पुरानै कार्यालयमा बस्ने प्रवृत्ति रोक्न यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ।

तोकिएको अवधिभित्र हाजिर नभए निजामती सेवा नियमावली, २०५० अनुसार कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।


प्रकाशित | १० बैशाख २०८३, बिहीबार २१:१७