काठमाडौंका नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, हालसम्म ६८ परिवार सरकारको सम्पर्कमा

काठमाडौं उपत्यकामा नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने सरकारको अभियान तीव्र गतिमा अघि बढेको छ।

यसक्रममा काठमाडौं महानगरपालिका–११ थापाथलीको बस्ती पूर्ण रूपमा खाली गरिएको छ भने वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा हटाउने कार्य जारी छ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बुद्धचोक र वडा नम्बर ९ मनोहरा टोलका अनधिकृत बस्तीहरू हटाउने तयारी भइरहेको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी प्रभावित भएका छन्।

बस्ती हटाउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले स्थानियवासीलाई सामान व्यवस्थापन र ढुवानीमा सहयोग गरेका छन्। स्थानीयको सहकार्यका कारण थापाथली क्षेत्र शान्तिपूर्ण रूपमा खाली गरिएको जनाइएको छ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य क्षेत्रका परिवार पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला मा राखेर विवरण संकलन भइरहेको छ र अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको तयारी गरिएको छ।

त्यसैगरी, घरायसी सामानहरू राधास्वामी सत्संग ब्यास नेपाल मा सुरक्षित रूपमा राखिएको छ।

सरकारले अब होटलमा राखिएका परिवारहरूको पहिचान प्रक्रिया सुरु गर्दै वास्तविक सुकुम्बासीको यकिन गर्ने जनाएको छ। पहिचान भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्ट तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

यससँगै प्रभावित परिवारहरूको दीर्घकालीन व्यवस्थापनको कार्य पनि अघि बढाइने सरकारले जनाएको छ।


प्रकाशित | १२ बैशाख २०८३, शनिबार १८:३१