काठमाडौं — एनआरएन अभियन्ता सुनील साहले सरकारले सार्वजनिक गरेको नागरिकता सम्बन्धी मस्यौदाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एनआरएनको भावना र अधिकारलाई प्राथमिकतामा राखेर कानुन निर्माण गर्न आग्रह गर्नु भएको छ ।
लामो समयको प्रतीक्षापछि बनेको दुई तिहाइ नजिकको सरकारसँग ठूलो अपेक्षा राखिएको अवस्थामा आएको उक्त ड्राफ्टले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको उनको भनाइ छ।
चुनावअघि गरिएको वाचा अनुसार नागरिकताको निरन्तरता र अधिकार सुनिश्चित हुने विश्वास रहे पनि हालको मस्यौदाले पर्याप्त स्पष्टता नदिएको साहले बताएका छन्।
“सरकारले गरेको प्रतिबद्धता अनुसार एनआरएनको अधिकार सुनिश्चित हुनुपर्छ। त्यसैले प्रधानमन्त्रीज्यूले यस विषयलाई गम्भीरतापूर्वक लिएर कानुन निर्माण गर्दा हाम्रो भावना र अधिकारलाई प्राथमिकतामा राख्नु आवश्यक छ,” साहले भने।
उनले गैरआवासीय नेपालीलाई अधिकार सम्पन्न नागरिकताको सुनिश्चितता हुने गरी ऐन तथा नियमावली तयार गर्न सरकारलाई आग्रह गरेका छन्।
साथै, यस विषयमा सकारात्मक दबाब सिर्जना गर्न विश्वभर रहेका एनआरएन समुदाय एकताबद्ध हुनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्।
साहले अन्तिम कानुनी व्यवस्था तयार पार्दा एनआरएनको वास्तविक हित समेटिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित | १४ बैशाख २०८३, सोमबार ०९:५८

