काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रति स्पष्ट प्रतिबद्धता जनाएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त सूचीमा मन्त्री बादीले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने अडान लिएकी छन्। उनले शक्तिको दुरुपयोग नगर्ने र कानुन विपरीत कुनै पनि प्रकारको भनसुन नसुन्ने स्पष्ट पारेकी छन्।
मन्त्री बादीले लागूऔषध, ठगी, तस्करीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन कुनै पनि प्रकारको संरक्षण नदिने उल्लेख गरेकी छन्।
साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै कुनै पनि बहानामा कमिसन वा घुस नलिने र यस्ता गतिविधि देखिएमा त्यसविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएकी छन्।
महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायका विषयमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ। राज्यको स्रोत–साधनको दुरुपयोग नगर्ने घोषणा गर्दै मन्त्री बादीले मन्त्रीका रूपमा पाइने अनावश्यक सुविधा-जस्तै क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी-समेत नलिने निर्णय सार्वजनिक गरेकी छन्।
नागरिकका दुःख–सुखमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भोट दिएको आधारमा कसैप्रति पक्षपात नगरी सबैलाई समान रूपमा सेवा गर्ने अठोट व्यक्त गरेकी छन्।
प्रकाशित | १५ बैशाख २०८३, मंगलवार ०८:३९

