डिजिटल अनुगमनबाट मालपोत सेवा सुधारतर्फ: मन्त्री रावलको सक्रिय पहल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूमा भइरहेको सेवा प्रवाहलाई अब आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाएकी छन्।

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने, सेवामा ढिलाइ हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको वास्तविक अवस्था तत्काल थाहा पाउने र समस्या समयमै समाधान गर्ने उद्देश्यले यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

नयाँ व्यवस्थाअनुसार मन्त्री रावलले प्रत्यक्ष रूपमा सेवा अवस्थाको निगरानी गर्न सक्नेछिन्, जसले सेवामा हुने ढिलासुस्ती नियन्त्रण गर्न र जिम्मेवारीबोध बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यस पहलबाट मालपोत सेवा थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगले सरकारी सेवामा सुशासन र उत्तरदायित्वलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।


प्रकाशित | १६ बैशाख २०८३, बुधबार १६:२२