काठमाडौं — युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को कार्यसमिति बैठक सभापति सोनाम लामाको अध्यक्षतामा जुममार्फत सम्पन्न भएको छ। बैठकले संस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकको मुख्य आकर्षणका रूपमा संस्थापकहरू डा. शेष घले (अष्ट्रेलिया) र देवमान हिराचन (जापान) लाई संरक्षक परिषदमा मनोनयन गरिएको छ। डायस्पोरामा उनीहरूको योगदान, अनुभव र नेतृत्वलाई कदर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।
त्यसैगरी, नेपाल सरकार, संसद तथा सम्बन्धित निकायहरूसँग समन्वय र नीतिगत पहलका लागि सभापति सोनाम लामाको संयोजकत्वमा सरकारी मामिला तथा नीतिगत सल्लाहकार समिति गठन गरिएको छ। उक्त समितिमा पार्वती थापा (अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक) सहित विभिन्न विज्ञ, अग्रज तथा सरोकारवालाहरू रहनेछन्।
कार्यसमितिमा रिक्त रहेको महासचिव पदमा कार्यकारी सदस्य तथा प्रवक्ता कृष्ण संजेल केसीलाई जिम्मेवारी दिइएको छ। साथै, मध्यपूर्व तथा अफ्रिका क्षेत्रका लागि सुनिल कुमार घिमिरे र अमेरिकाज क्षेत्रका लागि डिलुराम पराजुलीलाई क्षेत्रीय संयोजकमा मनोनयन गरिएको छ।
बैठकले यूएनडीओको पहिलो राष्ट्रिय संगठनका रूपमा सन्तोष गुरुङको अध्यक्षतामा गठन भएको मकाउस्थित संगठनलाई मान्यता प्रदान गर्ने निर्णय पनि गरेको छ।
यस बाहेक संस्थाले आवश्यक अन्य आन्तरिक निर्णयहरू समेत गरेको छ, जसबारे विस्तृत जानकारी आन्तरिक सर्कुलरमार्फत साझा गरिने जनाइएको छ।
प्रकाशित | २० बैशाख २०८३, आईतवार ०८:०६

