काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र जारी गरेको छ।
मन्त्रालयअन्तर्गतको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले आज सबै मन्त्रालय, विभाग, आयोग र सचिवालयलगायतका निकायहरूलाई पत्राचार गर्दै ट्रेड युनियनका कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो।
पत्रमा उल्लेख भएअनुसार, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भइसकेको छ। सोही सन्दर्भमा अबदेखि सबै निकायमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत) का विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गर्न भनिएको छ।
त्यस्तै, ती समितिहरू र समितिमा आवद्ध कर्मचारीहरूले ट्रेड युनियन प्रयोजनका लागि प्रयोग गर्दै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधनलगायतका सरकारी सेवा सुविधा तथा सम्पत्तिहरू सम्बन्धित कार्यालयले फिर्ता लिनुपर्ने व्यवस्था मिलाउन पनि परिपत्रमा उल्लेख गरिएको छ।
साथै, ट्रेड युनियनका विभिन्न तहका समितिमा आवद्ध रहेका कर्मचारीहरूलाई तोकिएको दरबन्दीअनुसारको कार्य जिम्मेवारीमा खटाउन पनि निर्देशन दिइएको छ।
प्रकाशित | २२ बैशाख २०८३, मंगलवार १९:४०


