काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो वरियताक्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै शर्मालाई अघि सारिएको हो ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा संसदीय सुनुवाइबाट अनुमोदित भएमा पूर्ण ६ वर्षे कार्यकालसहित प्रधानन्यायाधीश बन्नेछन् । ४ असार २०२७ मा पर्सामा जन्मिएका उनी ३ असार २०९२ मा ६५ वर्ष पुग्ने भएकाले वैशाख २०८९ सम्म पदमा रहने सम्भावना छ ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका शर्माले श्रम कानून विषयमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा काम गरिसकेका छन् ।
पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेला सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए ।
प्रकाशित | २४ बैशाख २०८३, बिहीबार १९:०७

