बेइजिङ । चीनमा चलिरहेको शुद्धीकरण अभियानका क्रममा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार चीनको सैन्य अदालतले पूर्व रक्षामन्त्री वेई फेङ्हे र ली शाङ्फु लाई भ्रष्टाचार तथा घुसकाण्डमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
वेई फेङ्हेले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने ली शाङ्फुले २०२३ मा करिब आठ महिनासम्म सो पदमा काम गरेका थिए। दुवै नेता सन् २०२३ मै सैन्य भ्रष्टाचारविरुद्धको अनुसन्धानको दायरामा परेका थिए।
राष्ट्रपति सी जिनपिङ ले नेतृत्व गरिरहेको पीपुल्स लिबरेशन आर्मी भित्र व्यापक शुद्धीकरण अभियान पछिल्ला वर्षहरूमा तीव्र बनेको छ। विभिन्न प्रतिवेदनअनुसार सन् २०२२ यता सयभन्दा बढी उच्च सैन्य अधिकारी कारबाहीमा परेका छन्।
सीएनएनले उद्धृत गरेको एक प्रतिवेदन अनुसार ३६ जना जनरल तथा लेफ्टिनेन्ट जनरल औपचारिक रूपमा हटाइएका छन् भने थप ६५ जना अधिकारी बेपत्ता वा कारबाहीको सूचीमा परेका छन्।
विश्लेषकहरूले यो कदमलाई राष्ट्रपति सी जिनपिङले सेनामाथि नियन्त्रण मजबुत बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। तर यति ठूलो स्तरको शुद्धीकरणले चीनको सैन्य तयारी र सञ्चालन क्षमतामाथि प्रश्न उठाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रकाशित | २४ बैशाख २०८३, बिहीबार २१:४०

