विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विदेशस्थित १५ जना अवैतनिक दूत (अनररी कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार सरकारले कूटनीतिक संरचना तथा प्रतिनिधित्वलाई व्यवस्थित बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो।

यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।


प्रकाशित | २५ बैशाख २०८३, शुक्रबार १२:३८