काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले देश अप्ठ्यारोमा नभई सही दिशातर्फ अघि बढिरहेको बताएका छन्।
सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले देशलाई “ट्र्याकमा ल्याउने” प्रयास भइरहेको बताएका हुन्।
कतिपय विश्लेषकहरूले देश संकटतर्फ गएको भाष्य निर्माण गर्न खोजिरहेको उल्लेख गर्दै उनले अहिलेको अवस्था सुधारतर्फ उन्मुख रहेको दाबी गरे। “देश कहीँ पनि अप्ठ्यारोमा छैन, हामी ट्र्याकमा ल्याउने कोसिसमा छौं, ट्र्याकबाहिर त हिजो थियो,” उनले भने।
लामिछानेले देशको सार्वभौमिकता र अखण्डताप्रति रास्वपा दृढ रहेको बताउँदै कुनै पनि विषयमा सम्झौता नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र सक्षम, विज्ञ र क्षमतावान नेताहरू रहेको उल्लेख गर्दै सार्वजनिक चर्चामा नआएका धेरै सांसदहरू पनि प्रभावकारी रहेको बताए।
उनले पार्टीका नेता तथा सांसदहरूलाई अभिव्यक्ति र गतिविधिप्रति जिम्मेवार बन्न आग्रह गर्दै जनताको आशा र भरोसामाथि चोट पुग्ने कुनै पनि व्यवहार नगर्न सचेत गराए।
प्रकाशित | २७ बैशाख २०८३, आईतवार १६:११

