राजनीतिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाइने सरकारको चेतावनी : अनुशासन र आचरण पालना गर्न निर्देशन

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाटै हटाइने चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरेको छ ।

सूचनामा निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै निजामती कर्मचारी राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ ।

सरकारले कर्मचारीलाई कुनै राजनीतिक दल, भ्रातृ संगठन, जनवर्गीय संगठन वा दलसँग आबद्ध कुनै संरचनाको सदस्यता लिनसमेत नपाइने स्पष्ट पारेको छ । राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि कर्मचारीतन्त्रमा बढ्दो राजनीतिक प्रभावबारे प्रश्न उठिरहेका बेला मन्त्रालयले जारी गरेको यो निर्देशनलाई प्रशासनिक तटस्थता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।


प्रकाशित | ३० बैशाख २०८३, बुधबार १८:३१