काठमाडौँ । शैक्षिक परामर्शका नाममा भइरहेको ठगी तथा अवैध कारोबारविरुद्ध अभियानअन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा अभियान चलाएको छ ।
शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा तोकिएका मापदण्ड र प्रक्रियाको पालना नगरी सञ्चालन भइरहेको शैक्षिक परामर्श केन्द्रहरूविरुद्ध प्रहरीले कारबाही अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार दर्ता तथा नवीकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणलगायतका गतिविधि सञ्चालन गर्दै आएका ९५ वटा केन्द्रमा एकैसाथ छापा तथा अनुगमन गरिएको हो ।
कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामाथि प्रारम्भिक स्क्रिनिङ भइरहेको छ र आवश्यक विवरण संकलनपछि थप अनुसन्धान अघि बढाइनेछ ।
प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी धन्धा नियन्त्रणका लागि अभियान तीव्र बनाइएको जनाएको छ ।
प्रकाशित | १ जेष्ठ २०८३, शुक्रबार १९:५२

