काठमाडौं । एनआरएन अभियन्ता सुनिल शाहले झण्डै दुई तिहाइ समर्थनसहितको सरकार बनेको वर्तमान अवस्थालाई गैर आवासीय नेपालीका मुद्दा समाधान गराउने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ।
उहाँले गैर आवासीय नेपाली नागरिकता लगायतका विषयलाई संसदमार्फत सम्बोधन गराउन अहिले सरकारलाई प्रभावकारी रूपमा सहमत गराउने समय आएको उल्लेख गर्नुभएको छ।
व्यक्तिगत राजनीतिक आस्थाभन्दा माथि उठेर “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणालाई स्थापित गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
उहाँले एनआरएनए नेतृत्व सरकार तथा राजनीतिक दलहरूसँग संस्थागत रूपमा समन्वय गर्नुभन्दा व्यक्तिगत भेटघाटमै बढी केन्द्रित देखिएको टिप्पणी गर्नुभएको छ। साथै गैर आवासीय नेपालीका मुद्दालाई प्राथमिकतामा राखेर सरकार र सम्बन्धित निकायलाई कन्भिन्स गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
शाहले अन्तर्राष्ट्रिय परिषद्ले राष्ट्रिय समन्वय परिषद्हरूमा अनावश्यक हस्तक्षेप गर्नु भन्दा आगामी निर्वाचनलाई निष्पक्ष, समावेशी र सबै सदस्यले मतदान गर्न पाउने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
राष्ट्रिय समन्वय परिषद्हरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने तथा छुटेका पक्षलाई निर्वाचनमार्फत समेट्दै संगठनलाई एकताबद्ध बनाउनु नै दीर्घकालीन समाधान हुने उहाँले बताउनुभएको छ।
प्रकाशित | २ जेष्ठ २०८३, शनिबार १०:१७

