समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिनमै ३७८ जनाले पाए राहत

काठमाडौँ । लामो समयदेखि आफ्नो बचत फिर्ताको पर्खाइमा रहेका सहकारी पीडितहरूका लागि सरकारले राहतको प्रक्रिया सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबारदेखि साना बचतकर्ताको रकम फिर्ता दिन थालेसँगै हजारौँ बचतकर्तामा आशा जागेको छ ।

समितिका अनुसार पहिलो चरणमा ३ वटा समस्याग्रस्त सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो । रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना रहेका छन् ।

समितिले पहिलो दिन कम रकम बचत गरेका बचतकर्ताबाट प्रक्रिया सुरु गरिएको जनाएको छ । अब भने बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ ।

हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।

पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई ‘साना बचतकर्ता’ र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ‘ठूला बचतकर्ता’ का रूपमा वर्गीकरण गरिएको छ । समितिका अनुसार ७६ हजार बचतकर्तामध्ये १८ हजारले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली अभियान पनि तीव्र बनाइएको बताइन् ।

उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण फिर्ता गर्ने क्रम बढ्न थालेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड रुपैयाँभन्दा बढी ऋण फिर्ता गरिसकेका छन् । समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ ।


प्रकाशित | ४ जेष्ठ २०८३, सोमबार १७:३०