काठमाडौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष सुनिल शाहले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटलाई गैरआवासीय नेपाली (एनआरएन) का दृष्टिकोणबाट सकारात्मक रूपमा लिन सकिने बताउनुभएको छ।
शाहले प्रतिनिधिसभामा करिब दुईतिहाइ सांसदको समर्थन प्राप्त वर्तमान सरकारले ल्याएको बजेटप्रति विश्वभर रहेका गैरआवासीय नेपाली समुदायको विशेष चासो र अपेक्षा रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत गैरआवासीय नेपालीका विभिन्न सरोकारका विषयलाई समेट्ने प्रयास गरेको देखिन्छ।
विशेषगरी गैरआवासीय नेपालीको पुँजी बजारमा सहज सहभागिता, डायस्पोरामा रहेका नेपालीको ज्ञान, सीप र अनुभवको उपयोग, नेपाल लगानी भिसा, सीप पासपोर्ट, रोजगारी प्रवर्द्धन, कन्सुलर सेवाको प्रभावकारिता, ‘वर्क फ्रम होम’ नीति तथा शेयर खरिद–बिक्रीमा सहजता जस्ता विषयलाई सकारात्मक रूपमा लिन सकिने उहाँको भनाइ छ।
चुनावी घोषणापत्रदेखि नै गैरआवासीय नेपालीका मुद्दाप्रति अपेक्षाकृत उदार देखिएको सरकारका नीति तथा कार्यक्रम र बजेटमा सोही प्रतिबद्धताको झल्को देखिएको शाहले बताउनुभयो। यद्यपि, बजेटमार्फत विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने तयारीबारे गरिएको संकेत भने उपयुक्त नरहेको उहाँको धारणा छ।
विदेशमा रहेका नेपाली नागरिकलाई सेवा प्रवाह, कूटनीतिक पहुँच तथा राष्ट्रिय हितका दृष्टिले समेत यस्ता नियोगको भूमिका महत्वपूर्ण रहने भएकाले उक्त विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको शाहले औँल्याउनुभयो।
उहाँले गैरआवासीय नेपालीको लगानी, ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन सके नेपाललाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।
प्रकाशित | १९ जेष्ठ २०८३, मंगलवार ०९:१०

