काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरका क्रममा सीमा समस्याबारे व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर देशभर पक्ष–विपक्षमा तीव्र बहस भइरहेको छ। दशकौँदेखि समाधान हुन नसकेको सीमा विवादजस्तो संवेदनशील विषयमा उठेका प्रतिक्रियाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले विषयलाई भावनात्मक रूपमा होइन, वस्तुगत र दीर्घकालीन दृष्टिकोणबाट बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँका अनुसार सीमा समस्या अत्यन्त जटिल, भावनात्मक र दीर्घ कूटनीतिक प्रक्रिया आवश्यक पर्ने राष्ट्रिय मुद्दा हो, जसलाई एउटा अभिव्यक्ति वा एक–दुई बैठकका आधारमा मात्र निष्कर्षमा पुर्याउन सकिँदैन।
उहाँले विगतका सरकारका समयमा भएका विभिन्न सन्धि–सम्झौता र कूटनीतिक अभ्यासहरूलाई स्मरण गर्दै इतिहासलाई नबिर्सी वर्तमानको मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ। साथै, अहिले संवाद र वार्ताको वातावरण बिस्तार हुँदै गएको सन्दर्भलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने उहाँको धारणा छ।
धितालले कूटनीति भनेको लामो र बहुस्तरीय प्रक्रिया भएको उल्लेख गर्दै कुनै पनि उच्चस्तरीय भ्रमण वा वार्ता आकस्मिक नभई लामो तयारीपछि मात्र सम्भव हुने स्पष्ट पार्नुभएको छ।
त्यसैगरी, यस्ता संवेदनशील विषयमा तत्काल निष्कर्ष निकाल्ने वा नेतृत्वलाई खलनायकका रूपमा चित्रण गर्ने प्रवृत्तिले समाधानभन्दा बढी असमझदारी बढाउने उहाँको चेतावनी छ ।
उहाँका अनुसार राष्ट्रिय हित, सार्वभौमिकता र जनताको हितविपरीत कुनै पनि सम्झौता हुन नसक्ने विषयमा सबै पक्ष सचेत रहनुपर्छ। दशकौँदेखि थाँती रहेका मुद्दामा समाधानको प्रयास भइरहेको अवस्थामा धैर्य, विश्वास र परिणामप्रति प्रतीक्षा आवश्यक रहेको उहाँको निष्कर्ष छ।
सीमा जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा भावनात्मक प्रतिक्रिया होइन, संयमित विश्लेषण र दीर्घकालीन दृष्टिकोण आवश्यक हुने उहाँको भनाइ छ।
उहाँले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारीका रूपमा कूटनीतिक संवादको चरण भएको संकेत गर्नुभएको छ।
त्यस्तै, उहाँले विपक्षी दलहरूलाई खोक्रो राष्ट्रवादको खेती गरेर नागरिकमा भ्रम फैलाउनुभन्दा कूटनीतिक समाधानका लागि धैर्य र संवादमा जोड दिन आग्रह गर्नुभएको छ।
प्रकाशित | २१ जेष्ठ २०८३, बिहीबार १६:५५

