दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक )
भूकम्प पछि बन्द रहेको तातोपानी नाका पुनःःसुचारु हुने पूर्व सन्ध्यामा नेपालका लागि चिनियाँ राजदुत होउ यान छि लाई भव्य स्वागत गरिएको छ । मंगलबार भोटेकोशी गाउँपालिका पुगेकी छिलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका प्रमुखहरुले भव्य स्वागत गरेका छन् । भोटेकोशी गाउँपालिकाको कार्यालय हिन्दीमा पुगेकी छिलाई झिर्पु माविका विद्यार्थी तथा स्थानीयले समेत पानीमा रुझेर स्वागत गरेका थिए । राजदुत छिलाई स्वागत गरिए संगै गाउँपालिकामै जनप्रतिनिधीहरुको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बन्द भएको नाका पुनः सुचारु गर्नु आफैंमा ऐतिहासिक कदम भएपनि व्यवस्यापनमा चुनौति रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नाकालाई थप सहज र व्यवस्थित बनाउन नेपाली व्यापारी व्यवसायीहरुलाई सजिलै नेलम सम्म पुग्ने वातावरण सिर्जना गर्न राजदुत छि संग आग्रह गर्नुभयो । त्यसैगरी अन्तरक्रिया कार्यक्रमा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नाका सञ्चालन हुदा हजारौं मजदुरहरुले रोजगारी पाएकोमा भूकम्पको कारण बन्द हुँदा हजार्रौ मजदुरहरु विदेशीन वाध्य भएको राजदुत छिलाई स्मरण गराउनुभयो ।
पछिल्लोपटक नाका खुल्ने चर्चा संगै जनतामा निकै उत्साहा छाएको बताउँदै मेयर शेर्पाले भन्नुभयो, ,‘राजदुत आउँदा सिमा क्षेत्रका जनतामा भगवान आए सरह भएको छ ।’ राष्ट्रपति, प्रधानमन्त्री तथा राजनेताहरुको विशेष पहलमा भएको नाका सञ्चालन संगै आगमी दिनमा चीनसंग उत्तरी नाका सिमा क्षेत्रका जनताको प्रागढ सम्बन्ध रहने विश्वास दिलाउँदै मेयर शेर्पाले जनप्रतिनिधिको हैसियतले चीन विरोधी कुनैपनि गतिविधी हुन नदिने प्रतिवद्घता जनाउनुभयो । छलफलका क्रममा मेयर शेर्पाले हिन्दी भाषामा नेपालीले गित संगित र बोलीचालीमा सहज बनाए जस्तै चाईनिज भाषामा पनि सिमा क्षेत्रका बासीलाई भाषा सिकाउन राजदुत छि संग आग्रह गर्नुभयो ।
त्यस्तै भेटघाटका क्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले नाका सुचारु संगै सिमा क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य तथा खानेपानी लगाएत आधारभूत आवश्यकता सहयोग गरिदन आग्रह गरे । त्यस्तै लिसंंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाललले तातोपानी नाका संचालन संगै दुई देश बीचको भाईचारा सम्बन्ध अझ प्रागढ हुने विश्वास दिलाउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष राजकुमार पौडेल, भोटेकोशी गाउँपालिका १ नम्बर वडाका वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०७:३७

