लोकसेवामा एकै दिन १७ हजारको आवेदन: आवेदन दिनेको संख्या १ लाख ६० हजार पुग्यो

काठमाडौं:  लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन दिनेको संख्या डेढ लाख नाँघेको छ । आयोगका अनुसार आइतबारसम्म झन्डै १ लाख ६० हजारको आवेदन दर्ता भएको छ । खुलातर्फ १ लाख ५५ हजार ३ सय ८५, महिलामा ३८ हजार ५०६, जनजातिमा १७ हजार ५३९, मधेसीतर्फ ९ हजार ५४९, दलित तर्फ १ हजार १७१, अपांगता भएकातर्फ ७२ र पिछडिएका क्षेत्रतर्फ ५० जनाको आवेदन परेको छ ।

आवेदनबापत २ करोड २४ लाख ४७ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको स्थानीय तहको माग आकृतिका आधारमा ५ सय १५ स्थानीय तहका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो ।


प्रकाशित | २ असार २०७६, सोमबार १२:०१