काठमाडौं । पछिल्लो पाँच महिनाको हाराहारीमा देशभर विभिन्न विपद्मा परि २ सय ९ जनाको मृत्यु भएको छ । बैसाख देखी भदौको मध्यसम्मको अवधिमा २ सय ९ जनाको विपद्मा परि मृत्यु भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा २२ जना बेपत्ता भएका छन् । ७ सय ८५ जना घाइते भएका छन् भने विपद् घटनाले ६ हजार ७२ भन्दा बढी परिवारलाई प्रत्यक्ष असर पु¥याएको छ ।
बैसाखदेखी हालसम्म ३ हजार ३ सय ५५ वटा विपद्का घटना भएका छन् । चट्याङका २ सय ६२ घटना भएका छन् । चट्याङका कारण ३२ जनाको मृत्यु भएको छ । यस्तै १ सय ९४ जना घाइते भएका छन् । सोही अवधिमा पहिरोका ३९७ घटनामा परि १८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। पहिरोबाट करिब ५३३ परिवार प्रभावित भएका छन्। बाढीका २ सय ४८ घटना भएका छन् । जसमा २७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्ते हावाहुरीका २ सय ८१ घटनामा परि ८ जनाको मृत्यु भएको छ । सयौं परिवार प्रभावित बनाएको छ ।
नेपालमा प्राकृतिक विपद्को जोखिम प्रत्येक वर्ष मौसमी कारणले उच्च रहने गरेको छ। यस वर्ष पनि वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुबानको जोखिम विशेषगरी पहाडी र तराईका क्षेत्रहरूमा तीव्र भएको प्राधिकरणको भनाइ छ ।
उद्धार तथा राहतका लागि यस वर्ष हेलिकप्टर र ड्रोनको प्रयोग गरिएको प्राधिकरणकी उपसचिव शान्ति महतले बताउनु भयो । विभिन्न क्षेत्रसंगको सहकार्यमा उद्धार तथा राहतका लागि प्रभावकारी रुपमा काम गरिरहेको उहाँको भनाई छ । पहिरो र बाढीका कारण धेरै स्थानमा सडक अवरुद्ध बनेका छन् भने कृषिजन्य उत्पादन र पशुपालनमा क्षति पुगेको छ ।
प्रकाशित | १७ भाद्र २०८२, मंगलवार ११:५५

