काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुगमन गर्नु भएको छ । जेनजी प्रदर्शनका क्रममा ब्युरो कार्यालय तोडफोड तथा कागजात जलाइएको थियो । सो क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले अब अपराध अनुसन्धान नरोकिने र ब्रेक थ्रु हुने बताउनुभयो ।
‘अब राजनीतिक कनेक्सनको आडमा ढाकछोप हुने दिन गए, अनुसन्धान अघि बढ्छ’, उहाँले भन्नुभयो ।
सीआईबी प्रमुखमा एआईजी डा. मनोज केसीको सरुवा भएसँगै गृहमन्त्री ब्युरो पुग्नु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका अनुसन्धान कर्ता केसीसँगै गृहमन्त्रीको उपस्थितिले ब्युरोमा नयाँ ऊर्जा थपेको छ।
गृहमन्त्री अर्यालयका अनुसार, राजनीतिक हस्तक्षेपले थन्क्याइएका फाइल अब खुल्छन् र अनुसन्धानमा हुने गरेका अवरोध तुरुन्त हटाइनेछ। ‘भ्रष्टाचारका सूचना बाहिर आउँदै छन्, अनुसन्धान रोक्ने खेल अब बन्द हुन्छ, यो सरकार सुशासनको लागि बनेको हो’ , गृहमन्त्रीले भन्नुभयो ।
प्रकाशित | १० आश्विन २०८२, शुक्रबार ११:१२

