काठमाडौं । समाज कल्याण परिषद् ले भृकुटीमण्डप क्षेत्रमा रहेका भौतिक संरचनाको भाडा नतिर्ने व्यवसायी तथा संघ–संस्थाहरूलाई बक्यौता रकम बुझाउन अन्तिम पटक ७ दिनको म्याद दिएको छ।
परिषद्का अनुसार भृकुटीमण्डपभित्र रहेका पक्की स्टल, बुथ तथा भवनहरू भाडामा लिएर लामो समयदेखि बक्यौता नतिर्नेहरूमाथि यसअघि पटक–पटक पत्राचार र सार्वजनिक सूचनामार्फत ताकेता गरिएको थियो। तर, आग्रह अटेर भएपछि गत चैत ३० गते ती संरचनाहरूमा तालाबन्दीसमेत गरिएको थियो।
यसपछि वैशाख १ गते गोरखापत्र मार्फत ७ दिने सार्वजनिक सूचना जारी गर्नुका साथै भृकुटीमण्डप क्षेत्रमा समेत सूचना टाँस गरिएको परिषद्ले जनाएको छ।
पहिलो पटक दिइएको म्यादभित्र केही व्यवसायी तथा संस्थाले आंशिक रकम बुझाए पनि रिपोर्टर्स क्लब नेपाल सहित अन्य १८ वटा संस्थाले अझै बक्यौता रकम दाखिला नगरेको परिषद्को भनाइ छ।
सोही कारण पुनः अन्तिम सूचना जारी गर्दै बाँकी सबै व्यक्ति तथा संस्थालाई बक्यौता चुक्ता गर्न ७ दिनको समय थप गरिएको हो।
परिषद्ले तोकिएको समयभित्र पनि अटेर गरे प्रचलित कानुनअनुसार सरकारी बाँकी सरह असुलउपर प्रक्रिया अगाडि बढाइने र कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
प्रकाशित | ९ बैशाख २०८३, बुधबार ११:१३


