काठमाडौँ । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङप्रति समर्थन जनाउँदै नायिका प्रियंका कार्की ले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिएकी छन्।
उनले मिडिया ट्रायलका कारण दबाब सिर्जना भएको उल्लेख गर्दै यस्तो कठिन अवस्थामा पनि पदभन्दा नैतिकता रोज्नु ठूलो कुरा भएको बताएकी छन्। “सधैं राम्रो काम गर्ने व्यक्तिहरूले नै धेरै अग्निपरीक्षा दिनुपर्छ भन्ने कुरा इतिहासले देखाएको छ,” उनले उल्लेख गरेकी छन्।
कार्कीले गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताउँदै सत्य उजागर हुनुपर्नेमा जोड दिएकी छन्। साथै उनले गुरुङलाई हिम्मत नहार्न आग्रह गर्दै “यो अन्त्य होइन, यो त सुरुआत मात्र हो” भन्ने सन्देश दिएकी छन्।
उनको भनाइमा, कठिन परिस्थितिमा परेका व्यक्तिहरू अझ बलियो भएर फर्किने विश्वास व्यक्त गर्दै नेपालले अझै गुरुङभित्रको क्षमता, दृष्टिकोण र नेतृत्व देख्न बाँकी रहेको उल्लेख गरिएको छ।
नायिका कार्कीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने धेरैले यसलाई सकारात्मक रूपमा लिएका छन्।
प्रकाशित | ९ बैशाख २०८३, बुधबार १६:१०

